ललितपुरका मतगणना स्थलमा विद्युत् र इन्टरनेटको समस्या

राष्ट्रपाटी न्युज

२८ बैशाख २०७९

ललितपुर । दक्षिण ललितपुरको मतगणनास्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्न सक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित् छन् ।
बागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्‌को समस्या रहेको बताए । उनले भने, ‘चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’ बागमती गाउँपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले बताए ।

महांकाल गाउँपालिकाकी मतदान अधिकृत सुशीला ज्ञवालीले पनि मतदान स्थलमा विद्युत्‌को समस्या रहेको बताइन् । उनले भनिन्, ‘यहाँ भएको वैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’

उता कोञ्ज्योसोम गाउँपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलारको जोहो गरिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए । उनले भने, ‘सोलार त छ । तर निरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’

मतगणनाका लागि छुट्टै इन्टरनेटको व्यवस्था नगरिएको महांकाल गाँउपालिकाकी मतदान अधिकृत ज्ञवालीले बताइन् । उनले भनिन्, ‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्वय गरेर बिजुली व्यवस्था गर्ने तयारी भइरहेको बताए । ‘हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउँदै छौँ,’ उनले भने, ‘इन्टरनेटको लागि फोनलगायत सबै स्रोत प्रयोग गरिन्छ ।’

मतगणना स्थलमा तार जाली

ललितपुरका मतगणनाका क्रममा तार जाली राख्ने तयारी गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकाको मतगणना स्थलमा ग्याविन तार (पर्खाल लगाउने तार) ले छेकिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए । उनले भने, ‘मतगणना गर्ने ठाउँ तारजालीले बेरेर बलियो बनाइसक्यौं ।’

महांकाल गाउँपालिकाकी निर्वाचन अधिकृत ज्ञवालीले पनि मत गणनास्थललाई छेक्न तार जाली ल्याइसकेको बताइन् । बागमती गाउँपालिकाका मतदान अधिकृत पोखरेलले तारजाली भित्र बसेर कर्मचारीले मतगणना गर्ने र तार जाली बाहिर प्रतिनिधि बस्ने व्यवस्था हुने बताए ।


Published :२८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media