नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने सम्भावना न्यून

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तान राष्ट्रिय टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप–२०२३ छनोट अघि दुई देशबीच मैत्रीपूर्ण खेल हुने जनाएको थियो । तर मिति नजिकिदै जाँदा खेल नहुने सम्भावना बढेको हो ।

एन्फा स्रोतका अनुसार मैत्रीपूर्ण खेलको सम्भावना निकै कम रहेको र चाडै नै आधिकारिक निर्णय आउनेछ । ‘मैत्रीपूर्ण खेलको सम्भावना कम छ । यस विषयमा चाडै नै जानकारी गराउँछौं ।’ एन्फा स्रोतले न्युज कारखानासँग भन्यो ।

नेपाल र अफगानिस्तानबीच ११ र १५ जेठमा कतारमा दुई मैत्रीपूर्ण खेल हुने तय थियो । तर खेल नहुने लगभग पक्का भएको छ । हालसम्म कतार भ्रमणका लागि कुनै तयारी नभएको स्रोतले जनायो ।

हाल खेलाडी र प्रशिक्षक विवाद समाधान नहुँदा कतार भ्रमण प्रभावित भएको हो । नेपाल टिम गत शुक्रबार नै कतार भ्रमण गर्ने एन्फाले आन्तरिक तयारी गरेको थियो । तर खेलाडी प्रशिक्षक विवाद समाधानका लागि तीन सदस्यीय छानविन समिति गठन भएको र छानविन चलिरहेकाले टिम भ्रमणमा ननिस्किएको बुझिएको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादपछि नियमित टोलीका १० सदस्यलाई बाहिर राख्दै युवा खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका छन् । नेपालले जेठ अन्तिम साता हुने छनोटमा जोर्डन, कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media