केशवराज पाठकले कांग्रेस पनि छाडे, अब स्वतन्त्र रहने

काठमाडौं ।
बूढानिलकण्ठ क्षेत्रका चर्चित पत्रकार केशव राज पाठकले कांग्रेस छाडेका छन। २०६४ साल देखि १५ बर्ष सम्म नेपाली कांग्रेसको क्रियाशील सदस्यका रुपमा सक्रिय रहेका केशव राज पाठकले स्थानीय चुनाव लगत्तै कांग्रेस छाडेका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्याम संगतलाइ राजिनामा दिदै उनले आगामी दिनमा लेखन र पत्रकारिता क्षेत्रमै केन्द्रित हुने बताएका छन् । नेपाली कांग्रेसको साधारण सदस्यबाट नै राजिनामा दिनका पछाडी कांग्रेसका नेताहरु संग वैयक्तिक गुनासाहरु रहेपनि तिनलाई नखोल्ने उल्लेख गर्दै पत्रकार पाठकले पार्टीको चवन्नी परिधिबाट हटेर लेखन परिधिलाई बढाउने उल्लेख गरेका छन् ।

२०४४ सालमा निर्मल लामाको हातबाट पारिजातको घरमा नेकपा चौमको सदस्यता लिएर राजनीति शुरु गरेका उनि २०४८ सालमा  एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेपछि २०५४ सालमा नेकपा एमालेको तर्फबाट कपन क्षेत्रमा वडा सदस्यको रुपमा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएका थिए। त्यसपछि २०५६ सालमा उनले नेकपा एमाले समेत छाडेका थिए। पुन २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका उनले १५ बर्ष पछि पुन कांग्रेस समेत छाडेका छन्।

२०४८ देखि २०५६ सम्म एमालेमा रहनु दुर्भाग्यपूर्ण समयको रुपमा सम्झदै उनि अब कुनै राजनीतिक दलमा नलाग्ने बताउंछन्।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा शसक्त कलम चलाएका उनले राजिनामा दिए संगै काठमाण्डौ क्षेत्र नं ४ र बूढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको राजनीति तरंगित भएको छ।


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media