राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

आज प्रस्तुत गरिने नीति तथा कार्यक्रममा आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र गठबन्धन दलका चुनावमुखी लोकप्रिय कार्यक्रमहरु रहने बताइएको छ । यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा संसदमा बजेट पेश गरिनेछ ।

आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएका कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने तयारी गरिएको छ ।

कृषि र उद्योगको प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने तयारी गरिएको छ ।  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी नीतिहरु आउनेछन् । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने अर्थमन्त्री जनार्दन शर्माले बताउँदै आएका छन् ।

त्यसैगरी आगामी आर्थिक वर्षमा साधारण (चालु) खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनिसकेको छ । नीति तथा कार्यक्रममार्फत् सरकारी खर्च कटौतीका योजनाहरु पनि सार्वजनिक हुनेछन् ।

नीति तथा कार्यक्रमलाई सरकारले अन्तिम रुप दिइसकेको जनाएको छ । विभिन्न विषयगत मन्त्रालय, निकाय र संघसंस्था तथा निजी क्षेत्रसहित सरोकारवालाहरुसँगको छलफलका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले तयार गरेको मस्यौदालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पुनरावलोकन गरिसकेको छ । आज मन्त्रिपरिषदको बैठकले पारित गरेपछि राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी गरिएको छ ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media