बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन-कुन वडाबाट पाए ?

राष्ट्रपाटी न्युज

११ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो ।

काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ ।

१९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाको भन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् ।

हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३२ नम्बर वडा (कोटेश्वर) बाट प्राप्त गरेका छन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात् ५ हजार ५२३ मत प्राप्त गरेका छन् ।

बालेनले सदर भएकोमध्ये वडा नं ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं ३१ (शान्तिनगर) बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं ४ (बालुवाटार) बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं ७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं १० (बानेश्वर) बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् ।

यस्तै, बालेनले सदरमतमध्ये वडा नंं १ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं  २ (लाजिम्पाट) बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं ३ (महाराजगन्ज) बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं  ५ (हाँडिगाउँ) बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं ६ (बौद्ध) बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं ८ (पशुपति) बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् ।


Published :११ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media