निजगढ विमानस्थलको फैसला सच्याउन माग गर्दै माइतीघरमा प्रदर्शन

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ ।

निजगढ विकास पक्षधरहरूको आयोजनामा माइतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो ।  सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातावरणको नाममा विकास रोक्न पाइँदैन’, ‘के विकास र समृद्धि अधिकार होइन ?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

२०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्नेको बाराका युवा नेता दामोदर मैनालीले बताए ।

“हामीले अहिले न्यायपालिकाले कार्यपालिकाको कामप्रति हस्तक्षेप गर्दै बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो”, युवा नेता मैनालीले बताए । अदालतले आफ्नो फैसला नसच्चाए देशभर आन्दोलन घोषणा गर्ने उनले चेतावनी दिए ।

“न्यायालयले वातावरणीय अधिकारलाई मात्रै प्राथमिकता दिई अन्य मौलिक अधिकारहरू–रोजगार, विकास र जीवनको अधिकार लगायतलाई कम प्राथमिकता दिई गरेको फैसला न्यायिक देखिँदैन । तसर्थ सो फैसलाको पुनर्विचार हुनुपर्छ र पुनरावलोकन पनि हुनुपर्छ भन्ने हामी विकास पक्षधर सम्पूर्ण नेपालीहरूको आवाज हो”, उनले भने ।

“यो अदालतप्रतिको प्रारम्भिक प्रतिक्रिया हो”, निजगढका युवा  उद्यमी ऋषिराज बडालने भन्नुभयो । अदालतको निर्णय गलत भन्दै त्यसलाई सच्याउन उनले माग गरे ।

अदालतको आदेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्न बाराका जनता तयार रहेको अर्का सहभागी नवराज पौडेलले बताए । उनले यो निर्णयले मधेस प्रदेशसँग शतप्रतिशत धोका भएको बताए । उनले अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको चर्चाले तराईबासीमा थपिएको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुषारापात गरेको आरोप लगाए ।

विरोध प्रदर्शनमा सहभागीहरूले अदालतको निर्णय गलत रहेकोले भन्दै सच्चाउन माग गरेका छन् । उनीहरूले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउँदै लैजाने समेत बताएका छन् ।

सर्वोच्च अदालतले तुरुन्तै निर्णय नसच्चाए कडा रूपमा नियमित विरोध कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर  अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media