सुरक्षाको एक्सन

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

काठमाडौं । ‘गन्तव्य’ बोलको गीतको भिडियो सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा देेखिएकी छन् ।  यो म्युजिक भिडियोबाट उनले आफूलाई एक्सनमा राम्रो सम्भावना रहेको देखाइन् ।

आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्युजिक गायक खत्रीले नै दिएका छन् । साथै गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्युजिकलाई ठाउँठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानको अभिनय छ । पैसाका लागि गलत काममा होमिएका उनीहरूबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरि हुमागाईंको आइडिया मन पर्‍यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’

उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।  पहिलो पटक एक्सन म्युजिक भिडियोमा काम गरेका निराजनले ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताए । हरि हुमागाईंले भिडियोको निर्देशन गरेका छन् भने शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media