फेरि देखिन थाल्यो काठमाडौंका सडकमा फोहोरको डुंगुर (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सडकहरुमा फेरि फोहोरको डुंगुर देखिन थालेको छ । सडकहरुमा फोहोर थुप्रिन थालेपछि महानगरले फोहोरका गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकाल्न सर्वसाधारणलाई अनुरोध गर्दै माइकिङ गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकालिदिनुहोला ।’ चाबहिल क्षेत्रमा मात्रै होइन, काठमाडौं महानगरका साथै अन्य पालिकाले पनि फोहोर घरभित्रै राख्न अनुरोध गरिरहेका छन् ।

हुन त ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक–पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको ४ महिनाभन्दा बढी भयो । सडक किनारमा फोहोर थुप्रिने र बेलाबेला व्यवस्थापन हुने गरेको थियो ।

सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि ११ जेठदेखि बञ्चरेडाँडाको नयाँ ल्यान्डफिल साइटमा फोहोर फाल्न थालियो । त्यहाँ पनि स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्नेदेखि विभिन्न पूर्वाधार बनाउनुपर्ने माग गर्दै अवरोध गरे ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवालासँग छलफल गर्दै बञ्चरेडाँडामा फोहोर फाल्ने सहज वातावरण बनाउन प्रयत्न गरेकी थिइन् । स्थानीयबासीको जायज माग सम्बोधन गर्ने आश्वासन दिइन् । स्थानीय प्रशासनले पनि सुरक्षाकर्मी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्दै आएको थियो ।

तर १५ जेठदेखि फोहोर बोकेका गाडी सिसडोल र बञ्चरेडाँडा दुबैतिर जान सकेको छैन ।

कतिपयले यसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भ्रमणसँग जोड्ने गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका साह सपथ ग्रहणअगाडि नै १४ जेठमा ल्यान्डफिल साइटको अनुगमनमा पुगेका थिए ।

सिसडोल र बञ्चरेडाँडा क्षेत्र पुगेर स्थानीय वासिन्दासँग छलफल गरेका उनले स्थानीयको मुद्दा सम्बोधन गर्ने र परम्परागत विधिबाट फोहोर व्यवस्थापन नगर्ने आश्वासन दिएर फर्किए । उनले अव्यवस्थित तरिकाले फोहोर विसर्जन गरेका कारण सिसडोल क्षेत्रको हरेक घरमा क्यान्सर, छाला रोगका बिरामी भएको भन्दै अब यस्तो पाप नगर्ने बताउने गरेका छन् ।

सोमबार पदबहाली गरेकै दिन कार्यपालिका बैठक राखेर दीर्घकालीन उपाय खोजी गर्न भन्दै मेयर, उपमेयरसहित वडाध्यक्षहरु राखेर कार्यदल गठन गर्ने निर्णय पनि गराएका छन् ।

एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि महानगरको वातावरण विभागले फोहोर उठाउन बन्द गरेको छ । शहरी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार १४ जेठबाट महानगरले आफूहरुसँग समन्वय नै गर्न छाडेको बताउँछन् ।

‘मेयरसा’बले सिसडोल गएर त्यहाँ मानवीय अपराध भइरहेको बताएपछि हामीले महानगरमा अब फोहोर कसरी लैजाने भन्नेबारे सोधेका थियौं,’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उहाँहरु मेयरसा’बको निर्देशन नआएको भन्दै अलमलमा पर्नुभयो । प्रहरीहरु पनि फर्किएपछि महानगरले शहरभित्र फोहोर नै उठाउन छोड्यो ।’

 


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media