पेट्रोलियम ऐन तत्काल त्याउन गगन थापाको माग

राष्ट्रपाटी न्युज

२० जेष्ठ २०७९

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे । उनले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन माग गरे ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गरेका छन् । उनले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए । अन्यथा यसले मुलुकलाई झनै मारमा पर्ने महामन्त्री थापाले चेतावनी दिए ।

महामन्त्री थापाले भने, ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होइन, यसले यति अस्तव्यस्त बनाउँछ–हाम्रो देश समाज सबैतिर । त्यसैले सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु–युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । मेरो पहिलो विषय यो हो । पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट हामीहरु किन्छौं । त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च । आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटर जम्मा ६० पैसा मात्रै कटने हो । बाँकी त हाम्रो कर हो । पूर्वाधार कर हामीले घटायौं । अरु पनि घटाएर भएपनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि हामीले चाल्नुपर्छ । हाम्रो स्टोरेज ६ महिनाको होइन, ८-१० दिनको मात्रै छ । हामीले स्टोरेज क्यासिटी बढाउनै पर्छ । कच्चा तेल ल्याएर रिफाईन गर्ने विकल्पबारे पनि सोचौं ।”

उनले अगाडि भने- यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिटयान्न पार्ने भनेर लाग्यौ भने बाँच्छौँ हामी ।


Published :२० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media