पलको रिहाइ माग गर्दै प्रदर्शन

राष्ट्रपाटी न्युज

२० जेष्ठ २०७९

काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । हाम्रो टिम नेपालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइँदैनलगायत नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरे ।

बलात्कारको आरोप लगाउने किशोरीले नै आफूमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन् । तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेशपछि उनका शुभचिन्तकहरूले आक्रोशित हुँदै विरोध प्रदर्शन गर्दै आएका छन् ।

गायिकासमेत रहेकी नाबालिगले पलमाथि बलात्कार आरोप लगाउँदै नवलपुर र तनहुँ प्रहरीमा उजुरी दिएपछि उनलाई थुनामा राखिएको छ ।  । उजुरीपछि छानविन गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतमा भएको थुनछेक बहसपछि हिरासतमा राख्दै थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्धमा पल उच्च अदालत पुगेका थिए । उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न दिन माग गरेका थिए । तर, उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै मुद्दाको चाँडो किनारा लगाउन र त्यतिबेलासम्म हिरासतमै राख्न आदेश दिएको थियो । पलको रिहाई लागि भन्दै उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


Published :२० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media