बालेन्द्र र प्रचण्डबीच भेटवार्ता, फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।

सो भेटका क्रममा स्वतन्त्रबाट निर्वाचित मेयर शाहलाई प्रचण्डले बधाई दिँदै आगामी दिनका कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर शाहले राम्रो काम गरेको खण्डमा नेपाली राजनीतिमा अझै धेरै स्पेस रहेको प्रचण्डले बताए ।

सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने मेयर बालेन्द्रको सोचप्रति प्रचण्डले खुसी व्यक्त गरे । उनले भने, ‘एउटा पार्टीलाई समात्ने र अर्को पार्टीलाई आलोचना गर्ने जुन प्रवृत्ति यसअघि अरुमा देखिएको थियो, त्यसलाई तपाईंले नयाँ तरिकाले सोच्नुभएको रहेछ ।’ उनले अगाडि भने, ‘सबैसँग सहकार्य गरेर जाने कुरा एकदमै राम्रो लाग्यो । अबको दिनमा पनि यसैगरी सहकार्य गरेर जानुपर्छ । हाम्रो पनि समर्थन रहन्छ ।’

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा पनि भेटमा कुराकानी भएको थियो । प्रचण्डले त्यसका लागि आवश्यक गर्न आफू तयार रहेको बताए ।

मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media