मैत्रीपूर्ण खेलमा ओमानद्वारा नेपाल २-० ले पराजित

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौँ । एसिया कप छनोटका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली  तेस्रो मैत्रिपूर्ण अभ्यास खेलमा पराजित भएको छ ।

खेलमा नेपाल ओमानसँग २–० ले पराजित भएको हो । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालविरुद्ध ओमानले सहज रूपमा जित निकाल्यो । नेपाललाई पराजित गर्दा ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले समान १–१ गोल गरे ।

एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । तुलनात्मक रुपमा बलियो मानिएको ओमानसँग भने नेपाल गोल गर्न असफल रह्यो । यसअघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यस्तै श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाट छनोटका लागि कुवेत प्रस्थान गर्नेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूहको शीर्ष टीम एसियाकपको लागि छनोट हुँदा पाँच समूहका उत्कृष्ट उपविजेताले पनि अवसर पाउनेछन् । छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। त्यस्तै दोस्रो खेलमा नेपालले ११ जुनमा आयोजक कुवेतको सामना गर्दा तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media