रुपन्देही बस दुर्घटनाका ९ मृतकमध्ये ५ जनाको खुल्यो पहिचान

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

बुटवल । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये पाँचजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास,रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र ४० वर्षको भारतीय नागरिक अरबिन्द्र शर्मा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढ ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उनले बताए ।

प्रहरीले उक्त दुर्घटनामा चालक निदाएको अनुमान गरेको छ । चालक र सहचालकको अवस्था खतरामुक्त छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media