बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु‍.२ ख ३८४१ नम्बरको बस आइतबार बिहान साढे ४ बजे रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ मा पर्ने रोहिणी नदीमा रहेको पुलबाट खसेको थियो । बसमा रहेका ३३ यात्रुमध्ये नौजनाको मृत्यु भएको हो ।

गृहमन्त्री खाँणले घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए ।

यता, रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा एक महिला र आठ पुरुष छन् । तीमध्ये पाँचजनाको सनाखत भएको छ ।

सनाखत भएका मृतकमा रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे, तिलोत्तमा–२ का विष्णु पौडेल, कालिकानगरका कृष्णप्रसाद बस्याल‚ रौतहटको चपुरका दिनेश दास र भारतका अरविन्द्र शर्मा छन्। प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media