मन्त्री हेरफेरमा एसका मन्त्रीहरुको विरोध, प्रधानमन्त्री देउवाद्वारा हेरफेरको निर्णय अस्वीकार

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

काठमाडौं । एकीकृत समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको सपथ ग्रहणको तयारी भएकै बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताए ।

मन्त्री हेरफेरको विषयमा समाजवादीले सिफारिस गरेको हो भन्ने प्रश्नमा मन्त्री खतिवडाले सो विषयमा अनभिज्ञता प्रकट गरे । उनले मन्त्री सिफारिसको विषयमा कुनै निर्णय नै बताए ।

उनले मन्त्रिपरिषद् फेरबदल भएको विषयमा कुनै निर्णय भएको भए यस विषयमा जानकारी दिन सकिने तर, कुनै निर्णय नै नभएको विषयमा के जवाफ दिने भनेर प्रतिप्रश्न गरे ।

मन्त्री हेरफेरको विषयमा सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । यसका क्रममा उनीहरुले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि जनाए ।

अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाका लागि मात्र हो भनेर सपथ गराइएको बताएका थिए । नयाँ मन्त्रीहरूको सोमबार सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो ।

समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन ।

यता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफूले नचाहेको प्रधानमन्त्री  देउवाले बताएक थिए ।

प्रधानमन्त्री देउवाले अडान लिएपछि तत्काल मन्त्री फेर्ने निर्णयबाट माधव नेपाल ब्याक हुनुपरेको छ । आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

प्रधानमन्त्री देउवाको निर्णयपछि मन्त्री बन्न कसिएकाहरू अहिले निराश भएका छन् ।

 


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media