नेसनल प्याब्सन काठमाडौँले जिल्लास्तरीय हाजिरीजवाफ गर्ने

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७९

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ तथा नेसनल प्याब्सन बुढानीलकण्ठले संयुक्त रुपमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्ने भएका छन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नेसनल आइडियल स्कुलमा आयोजित पत्रकार सम्मेलनमा यही जेठ २७ देखि २९ गतेसम्म ३ दिन सो प्रतियोगिता आयोजना गरिने जानकारी दिइयो ।

नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष नारायणबाबु तिमल्सिनाले प्रथमलाई ट्रफी, मेडलसहित नगद १० हजार, द्वितीयलाई ट्रफी, मेडलसहित ८ हजार, तृतीयलाई ट्रफी, मेडलसहित ७ हजार, चौथोलाई ट्रफी, मेडलसहित ४ हजार र पाँचौँलाई ट्रफी, मेडलसहित ३ हजार दिइने जानकारी आयोजकले दिएका छन् ।

काठमाडौँ जिल्लाका ६१ भन्दा बढी विद्यालयका ८६ टिमको सहभागिता रहने सो प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइने कार्यक्रमका संयोजक तथा नेसनल प्याब्सन बुढानीलकण्ठका सहसचिव तेन्जिङ भुटियाले बताए । नेसनल प्याब्सन बुढानीलकण्ठका सचिव लेखजङ खत्रीले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा नेसनल प्याब्सन काठमाडौँका उपाध्यक्ष होमबहादुर अधिकारी, सचिव अमृत खड्का, सहसचिव समिर बास्तोलासहित विभिन्न नगर समितिका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

जेठ २९ गते हुने सो प्रतियोगिताको समापन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मानसमेत गरिने जानकारी आयोजकले दिएको छ ।


Published :२६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media