सेनाको विपद् व्यवस्थापन पूर्व अभ्यास

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

मोरङ । समुदायमा आइपर्ने बाढी पहिरोजस्ता विपद्मा नागरिकको जीउधनको उद्धार र सुरक्षाका लागि नेपाली सेनाको श्री भैरव गणले आज यहाँ एकदिने विपद् व्यवस्थापन पूर्व अभ्यास गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोसी अस्पताल, राष्ट्रिय सेवा दल, विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाद्वारा संयुक्त रुपमा विराटनगर–८ स्थित सिङ्घिया नदीमा नागरिक उद्धार, जीउधन सुरक्षा, स्वास्थ्य उपचार तथा पुनः स्थापनाजस्ता कार्यको पूर्व अभ्यास गरिएको हो ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरीका तर्फबाट  नागरिकको उद्धार, विभिन्न घरेलु सामग्री सामान प्रयोग गरी बाढीमा सुरक्षित स्थानमा लैजानेजस्ता कार्य गरिएको थियो ।

यसैगरी अस्पताल र रेडक्रसका स्वयंसेवकहरूले उद्धार गरिएका नागरिकलाई  प्राथमिक स्वास्थ्य उपचार, अस्पताल पुर्‍याउने व्यवस्था र आवश्यक सामग्री वितरणलगायत अभ्यास गरेका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् आउने क्षेत्रको नक्साङ्कन, सुरक्षित उद्धार र व्यवस्थापन गर्न सके नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन सकिने बताए ।

उनले प्रदेश सरकार जनताको जीउधनको सुरक्षाप्रति सचेत रहेको चर्चा गर्दै विपद्का बेलामा सबैले एक भएर उद्धार कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले विपद्मा सहज उद्धारका लागि लागि पूर्व तयारीबाट सहयोग पुग्ने धारणा राख्दै उपलब्ध स्रोत साधन र उद्धार सामग्रीको सही व्यवस्थापन गरिने जानकारी गराए ।

उनले विपद् व्यवस्थापनका लागि बजेट छुटाउन स्थानीय तहसँग आग्रह गरे । मोरङको थलहा गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले पूर्वअभ्यासले समयमै विपद्मा परेका  नागरिकको  जीउधनको सुरक्षालगायत क्षति न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालयले विसं २०७८ साउनदेखि हालसम्म बेमौसमी  वर्षाबाट मृत्यु भएका चार जनाका परिवारलाई रु दुई लाखको दरले राहत वितरण गरेको जनाएको छ । यस्तै सोही अवसरमा आगलागीबाट  क्षति भएका दुई सय परिवारलाई राहत वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला विपद् व्यवस्था समितिको कोषमा अहिले रु एक करोड रकम सञ्चित  गरिएको छ भने बेमौसमी वर्षाबाट कृषकले लगाएका कृषि बाली नोक्सानी भएकामा क्षतिपूर्ति उपलब्ध गराउन रु ३४ करोड माग गरी गृह मन्त्रालयमा पत्र पठाइएको जानकारी कार्यालयले दिएको छ ।


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media