‘कबड्डी ४’ विरुद्ध जिल्ला प्रशासनमा उजुरी

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ को प्रदर्शनी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । सो चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै रोविनकुमार लामाले सोमबार चलचित्रविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले बताएका छन् ।

निवेदक लामाले चलचित्रको प्रदर्शनी रोक्न तथा दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । सो उजुरीमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

उजुरीमा लामाले उजुरीमा भनेका छन्, ‘कबड्डी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पुर्‍याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा खलल पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित चलचित्रले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ । अहिले पनि विभिन्न हलमा यो चलचित्र हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media