मेलम्ची बाढीको एक वर्षः पुनःनिर्माणको कार्यमा सरकारी बेवास्ता

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगे पनि पुनः निर्माण कार्यमा सरकारले वास्ता गरेको छैन । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो ।

बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन। गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए ।

उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।

बाढीले घरखेत बगाएपछि बेसहारा बनेकी हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन्। बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो । उनी हाल सुुकुम्बासी बनेकी छिन् । ‘सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन,’ उनले पीडा सुनाइन् ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियो। पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए। हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।

हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निस्कन सकेका छैनन्। बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारिरहेका छन् । ‘सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैँ सताउँछ,’ उनले भने।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो। गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। ‘निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ,’ उनले भने ।


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media