पञ्चशीलको सिद्धान्तविपरीत एसपीपी सम्झौता एमालेलाई कुनै हालतमा मान्य हुँदैनः शंकर पोखरेल

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौता एमालेलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले उक्त सम्झौता अमेरिकासँग गरिए त्यो मुलुकको पञ्चशीलको सिद्धान्त विपरीत हुने दाबी गरे ।

महासचिव पोखरेलले अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपन्च रहेको भन्दै यसलाई एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताए । उनले भने- ‘यसप्रति एमालेको गम्भीर असहमति छ, अमेरिका भ्रमण र एजेण्डाबारे सरकारले यथोचित जवाफ दिनुपर्छ ।’ एमालेले यसप्रति गम्भीर आपत्ति जनाएको बताए ।

‘यसले नेपालको असंलग्न परराष्ट्र नीतिलाई नै असर गर्छ, पन्चशीलको सिद्धान्तविपरीत हुने यस्तो सम्झौता स्वीकार्न सकिँदैन,’ पोखरेल भने । उनले प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएको भन्दै त्यसो गरिए देशकै इज्जत र प्रतिष्ठामा दाग लाग्ने पनि बताए । उनले भने- ‘यदि त्यसरी भ्रमणमा जान लागेको हो भने मुलुकको अपमान हुनेछ ।

एक अर्को प्रसंगमा उनले स्थानीय चुनावमा लोकप्रिय मतका आधारमा एमाले नै पहिलो भएको भन्दै कांग्रेसले एक्लै लड्दाको हिसाब गर्दा २० प्रतिशतमात्रै जनमत रहेको र एमालेले ३४ प्रतिशत मत प्राप्त गरेको बताए । उनले स्थानीय चुनावको परिणामले संघीय चुनावलाई असर नगर्ने बताए ।

उनले भने- ‘गठबन्धनलाई आधार मान्ने हो भने गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ, तर कांग्रेस पहिलो र एमाले दोस्रो भन्न सकिँदैन ।’ उनले यो सरकार निर्माण भएपछि मुलुक चरम आर्थिक संकटमा फस्दै गएको बताए । अघिल्लो सरकारका पालामा भएको तीन प्रतिशत मूल्यवृद्धि अहिले सात प्रतिशत पुगेको पनि उनको दाबी छ । उनले अर्थमन्त्रीले बजेट निर्माणमा व्यापारीलाई घुसाएर अपराधपूर्ण काम गरेको भन्दै यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाव दिए ।


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media