भीम रावलद्वारा एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन छानबिन समितिको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाउन माग गरेका छन् । उनले यसबारे सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए ।

नेता रावलले भने- ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु ।’

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा के हो परराष्ट्रमन्त्रीले किन खुलाउनुभएन भन्दै प्रश्न समेत गरेका छन् । उनले अगाडि भने- ‘परराष्ट्रमन्त्रीले अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीको क्याम्प भ्रमणलाई राष्ट्रिय हितको बिषय भएको बताउनुभएको छ त्यो कुरा म यो समितिमा उपलब्ध गराउन सक्छु ।’ ‘यस्तो परराष्ट्रमन्त्री भएपछि नेपालको परराष्ट्रनीति कसरी कार्यान्वयन हुनसक्छ र’ भनेर उनले प्रश्न गरे ।

उनले नेपाली सेनाले अमेरिकालाई पत्र लेखेकोबारे प्रष्ट पारेकोमा धन्यवाद दिँदै भने, ‘तर एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने ? यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे बिचार गर्न आवश्यक छ ।’

नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताएका छन् । ‘मौन बस्नुको अर्थ के हो र’, रावलको प्रश्न छ ।


Published :३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media