घुस लेनदेन अडियोबारे छानबिन भइरहेको छः कानुनमन्त्री कोइराला

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधिश राजकुमार कोइरालाको घुस लेनदेन अडियोबारे छानबिन भइरहेको दाबी गरेका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियान नै सञ्चालन गरिएको दाबी गरे ।

मन्त्री कोइरालाले जिल्ला न्यायाधिश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानविन समिति नै गठन गरिएको बताए ।

न्यायाधिशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको जानकारी दिए । उनले भने, ‘विगत केही समयदेखि यति धेरै न्यायलयप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठिक, कति बेठिक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ । त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालयभित्र विकृति र विसंगति थियो । त्यसविरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै सञ्चालन गरिएको छ । त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media