बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने कसरत सुरु

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने कसरत सुरु गरेको छ । सोही कसरतअनुसार आज सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचनको मिति घोषणापूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री रहेका छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

उनीहरुलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने भएको बताइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गर्दै आएका छन् ।

आज बस्ने बैठकको समय भने तय भइसकेको छैन । सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।


Published :१७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media