काठमाडौँ । कपन बानेश्वर साहित्यिक साप्ताहिकले आफ्नो दशौ वार्षिकोत्सबको अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
कपन बानेश्वर साहित्यिक साप्ताहिकको वर्ष दसमा प्रकाशित रचनाहरुमध्येबाट शीतल गिरीलाई नालाङ्ग कबा रचना पुरस्कार ( पुरुष ), तारा केसीलाई श्यामा खरेल स्मृति कबा रचना पुरस्कार (नारी), इन्द्रकुमार श्रेष्ठ ओखलढुंगालाई गङ्गा लिगल कबा रचना पुरस्कार (मोफसल), तृष्णा श्रेष्ठलाई हेमगङ्गा कबा रचना पुरस्कार (बाल) प्रदान गरिने भएको हो ।
गत वर्षसम्म कबा समाचार पुरस्कार प्रदान गरिँदै आएकोमा यो वर्षदेखि सोको नाम कबा साहित्यिक पत्रकारिता पुरस्कार नामाकरण गरी साहित्यिक पत्रकार उमेश पाण्डेलाई प्रदान गरिने साप्ताहिकले जनाएको छ ।
त्यसैगरी सो साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई कबा विशिष्ट सम्मान र विष्णु ओलीलाई कबा सम्मान प्रदान गर्ने जनाएको छ ।
साप्ताहिकको प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिले सिफारिस गरेको आधारमा प्रतिभा चयन गरिएको कपन बानेश्वर साहित्यिक साप्ताहिकका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले जानकारी दिएका छन् ।
सो सम्मान तथा पुरस्कार साउन ७ गते शनिबार पत्रिकाको दशौ वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिने पत्रिकाका सहसम्पादक प्रशुराम अधिकारीले बताए ।
नेपालको पहिलो र हालसम्म एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष वार्षिकोत्सवमा सम्मान र पुरस्कार समर्पण गर्दै आएको जनाएको छ ।