काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने भएका हुन् ।
नेपाल भ्रमणमा रहेका चियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरे ।
त्यसैगरी उनले आज नै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नेतासँग समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चियान्चाओ तीनदिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।