“काँग्रेसको पुच्छर बनेर बामपन्थीबीच एकता हुन सक्दैन”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

काँग्रेसको पुच्छर बनेर हिँडने अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए । सोको जवाफ दिँदै उहाँले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार रहेको बताए ।

अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने जिकिर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको बताए । उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए ।

अध्यक्ष ओलीले नेपालका बामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र बामपन्थी एकतामा आउन आग्रह गरे । उनले एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाउन आह्वान गरे ।

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media