साफ यु-२० मा नेपालद्वारा माल्दिभ्स ४–० ले पराजित

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौं । यु-२० च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवातदेखि नै माल्दिभ्सलाई दबाबमा राख्दै जित हासिल गरेको छ ।

नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।

यस्तै दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

माल्दिभ्सका हुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media