खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौँ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले जितेको छ ।

यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन् । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।

कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता समूहले रु छ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उपविजेता समूहले रु चार लाख, तृतीय हुन सफल दुई समूहले रु डेढ–डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई रु १० हजार प्रदान गरिएको थियो । पाँच दिनसम्म पोखराको सभागृहमा चलेको प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौँ र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको थियो । यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी रहेका थिए ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media