टी-२० सिरिजमा नेपालद्वारा केन्या ३१ रनले पराजित

राष्ट्रपाटी न्युज

१४ भाद्र २०७९

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्रराष्ट्रिय सिरिज जितेको छ ।

केन्याको राजधानी नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज (मंगलबार) भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए । त्यस्तै, करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।

केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।

नेपालले अब घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल शुक्रबार हुनेछ। त्यस्तै, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।


Published :१४ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media