सन्दीपले पटक-पटक बलात्कार गरेको जाहेरी छ : प्रहरी

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ ।

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौँ प्रहरीले भनेको छ । विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले भनेको छ, ‘काठमाडौँमा ल्याई रातको अन्दाजी ११:५५ बजे काठमाडौँ-९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२:२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए । उनी केन्यासँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए ।


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media