इन्द्रजात्राले प्राचीन संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

सो अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले भन्नुभएको छ, ‘कुमारी इन्द्रजात्रा पर्व, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो पर्व देवराज इन्द्रको पूजा अर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको उहाँले शुभकामनामा उल्लेख गर्नुभएको छ ।

‘काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ,’ राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, ‘पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्वित गर्दछ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवम् संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।’

कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गल लगायतका प्राकृतिक स्रोतहरूको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा उहाँले व्यक्त गर्नुभएको छ ।


Published :भदौ २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media