प्रतिभाको सम्मान चेतनाको सम्मानः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो ।

“नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

प्रतिष्ठानले गर्ने कविता महोत्सवले अन्तर पुस्तागत समूहलाई प्रोत्साहन गरेको उल्लेख गर्दै उहाँले एक लाख २८ हजारभन्दा बढी शब्द सङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करणजस्ता कृति प्रकाशन भइरहनुपर्ने बताउनुभयो ।

दुवै कृति आजै राष्ट्रपति भण्डारीले विमोचन गर्नुभएको थियो । ‘सनातन संस्कृति कोष’, ‘नेपाल दर्पण’ जस्ता पुस्तक प्रतिष्ठानले प्रकाशनको तयारी गरेकामा पनि उनले सराहना व्यक्त गर्नुभयो ।


Published :भदौ २७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media