दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज (शनिबार) देखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरू दशैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकाले विगत केही वर्षदेखि दशैंअगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै टिकटै लिन चाहनेले नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट अग्रीम टिकट बुकिङ गर्न सक्नेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।


Published :अशोज १, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media