काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जना डेंगु संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।
मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।
प्रायः दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।
लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।
पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।
साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।