आजमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

राष्ट्रपाटी न्युज

अशोज १८, २०७९

काठमाडौँ । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७:३५ बजे यात्रा गराइएको छ । बिहान ८:४७ बजे तलेजु  भवानीलाई मूल मन्दिरमा स्थिरासन गराएको छ ।


Published :अशोज १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media