पक्राउ परे सन्दीप लामिछाने

राष्ट्रपाटी न्युज

२० आश्विन २०७९

काठमाडौं । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिला भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।


Published :२० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media