महिला भलिबलको फाइनल खेल सशस्त्र र पुलिस क्लबबीच हुने

राष्ट्रपाटी न्युज

१ कार्तिक २०७९

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब पुगेका छन् ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनल खेल पक्का गरेका हुन् ।

सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमशः २५-२३, २५-२२ र २५-१६ को अन्तरमा पराजित गर्‍यो ।

सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतीको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन्। कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५-१०, २५-१८ र २५-११ अंकमा पराजित गर्‍यो। कमला र अरुणा दुवै म्याग्दीका हुन् ।


Published :१ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media