नवौं राष्ट्रिय खेलकुदः ८०० मिटर दौडमा आर्मीका सोमबहादुर र एपीएफकी फुलमतीलाई स्वर्ण

राष्ट्रपाटी न्युज

२ कार्तिक २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

उनीहरु दुवैको व्यक्तिगततर्फ यो दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।

पोखरा रंगशालामा बुधबार फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

महिलातर्फको यस स्पर्धामा त्रिभुवन आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डसहित रजत जितिन् । आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् ।
यसैगरी पुरुषतर्फ ८ सय मिटर दौड १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै सोमबहादुरले स्वर्ण जिते ।

यस स्पर्धामा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । आर्मीका सुनिल सुनारले १ मिनेट ५५.५२ सेकेन्ड टाइमिङ सहित कास्य जिते ।

८ सय मिटर पुरुष दौडमा राष्ट्रिय कीर्तिमान सोमबहादुरकै नाममा छ । उनले सन् २०१८ को जाकार्ता एसियन गेम्समा १ मिनेट ५०.२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।


Published :२ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media