चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०७९

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका ३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६स्३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,’ उनले भने। बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ। गत असारमा बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर १ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो ।

बन्दीपुर गाउँपालिका ४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका १ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए। पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ। चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।


Published :कार्तिक ४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media