आयाक्सविरुद्ध लिभरपुलको जित

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०७९

काठमाडौँ । इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति एमास्ट्रडम एरिना स्टेडियममा भएको खेलमा आयाक्सविरुद्ध ३-० गोलको जित निकाल्दै लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

घरेलु टोलीविरुद्धको जितमा लिभरपुलका लागि मोहम्मद सलाह, डार्बिन नुनोज र हार्वे इलियटले एक–एक गोल गरे । यो जितसँगै ५ खेलमा १२ अंक जोडेको लिभरपुल समूह ‘ए’को दोस्रो स्थानमा रहँदा पराजित आयाक्स समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

यही समूहको अर्को खेलमा नापोलीले रेन्जर्सविरुद्ध ३-० को सहज जित निकालेको छ । यसैबीच स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोलले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । बायर्नका लागि साडियो माने, चोपो मोटिङ र बेन्जामिन पाभर्डले गोल गरे ।

यो जितसँगै समूह सीको शीर्ष स्थानमा रहेको बायर्नले ५ खेलमा १५ अंक जोडेको छ । बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । बायर्नले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।


Published :कार्तिक १०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media