महोत्तरी । हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यू आदेश जारी गरेको हो ।
भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
कर्फ्यू अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
हिन्दू सम्राट सेना नाम गरेको एक सङ्गठनले निकालेको र्यालीका क्रममा आज हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।
अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अवस्था अनियन्त्रित भएपछि सो क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको जनाएको छ ।