
काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका छन्। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका हुन्। सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका छन्। पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका छन् ।
चारजना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए। सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए।पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।
इजलाशले शुक्रबार जवाफी बहस गर्न सरकारी वकिललाई साढे १० बजे बोलाएको छ। यसो हुँदा भोलि नै आदेश आउने सम्भावना देखिएको काठमाडौँ सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। आज प्रतिवादीको पक्षका वकिलहरूले बहस गरे। सरकारी वकिललाई भोलि साढे १० बजेका लागि बोलाएको छ,’ उनले भने, ‘जवाफी बहस सकेपछि भोलि दिउँसोसम्म आदेश आउने सम्भावना छ।’ सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कार्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।