विश्व फुटबलको महाकुम्भ आजबाट सुरु हुँदै

काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आजबाट कतारमा सुरु हुँदै छ । राजधानी दोहा वरिपरि रहेका आठ स्टेडियममा विश्वकपका खेलहरू हुँदैछन् ।

२००२ मा एसियाका जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपपछि एसियामा हुन लागेको यो दोस्रो विश्वकप हो । मरुभूमिको देश कतारमा २७ लाख मात्रै जनसंख्या छ । जसमा तीन लाख कतारी हुन् भने बाँकी आप्रवासी हुन् । प्राकृतिक तेल र ग्याँसको भण्डार रहेको यस देशले आफ्नो अथाहा सम्पत्तिको बलमा पहिलोपल्ट अरबी भूमिमा विश्व फुटबलको महाकुम्भ कतार विश्वकप आयोजना गर्न लागेको हो ।

यहाँ एक स्टेडियमबाट अर्को स्टेडियमको दूरी झण्डै ४० माइल मात्रै छ । अर्को स्टेडियमसम्म पुग्न जम्मा ५० मिनेटको मात्रै समय लाग्छ । आयोजना अधिकार भएको १२ वर्षमा कतारले यी स्टेडियम तयार पारेको हो । कतारले यसै विश्वकपलाई लक्ष्य गरेर सय बढी होटल खडा गरेको छ । त्यसबाहेक मेट्रो, फ्यान भिलेज, बजार, सपिङ मलहरू बनाएको छ ।

खेलहरू २९ दिनसम्म सञ्चालन हुनेछन् । जसले जुन १९७८ को अर्जेन्टिना विश्वकपपछि यसलाई सानो विश्वकप बनाएको छ । समूह चरणमा एकदिनमा चार खेलसम्म हुने तालिका छ । यस विश्वकपमा अन्तिमपटक ३२ देशहरूले सहभागिता जनाउँदै छन् । चार वर्षपछि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् ।

आयोजक कतार र इक्वेडरबीच अल बयाट स्टेडियममा उद्घाटन खेल भएसँगै विश्वकपको सुरुवात हुनेछ । सोही स्टेडियममा एक भव्य कार्यक्रमबीच उद्घाटन समारोह हुनेछ । जसमा विश्व देशका प्रमुखहरू, सहभागी टोली, खेलाडी, आयोजक, दर्शकलगायत हजारौँको उपस्थिति हुनेछ । कोरियन चर्चित गायन समूह बिटिएसलगायत विश्व चर्चित सेलिब्रेटीहरूले उद्घाटनमा माहोल तताउनेछन् ।


Published :४ मंसिर २०७९


Copyright : © 2020-2022 All right reserved

Developed by: Abritti Media