काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सकले अन्तरविद्यालय ‘फुटसल कप–२०२२’ आयोजना गर्ने भएको छ । मंसिर २० र २१ गते सो फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा प्याब्सकले सो फुटसलमा ३२ वटा विद्यालयले सहभागिता जनाउने जानकारी दिएको छ । कार्यक्रम संयोजक राजु पुडासैनीका अनुसार सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई नगदसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने भएको छ । यसका साथै वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कारको समेत व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामाले ०६१ सालमा स्थापना भएको यस संस्थाले विगतदेखि नै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
यस्तै, प्याब्सक महासचिव राजन श्रेष्ठले विद्यार्थीको वौद्धिक क्षमतामा अभिवृद्धि गर्न, विद्यालयबीचका विद्यार्थीमा आत्मियताको भावना जागृत गर्न फुटसल कप आयोजना गरिएको बताए ।