काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
बुधबार महानगरले सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन भनेको हो ।
कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको छ । सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्नसमेत महानगरले सुझाएको छ ।
तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्ने चेतावनीसमेत दिइएको छ ।