नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ७ अर्बमाथि

राष्ट्रपाटी न्युज

असार १७, २०८२

काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि उकालो लागेको सेयर बजार आज पनि जारी रह्यो। यसदिन २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा अडिएको छ। आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेकोमा सोमबार  ९.१९ अंकले बढेर बन्द भएको थियो।

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ।

यसदिन ३०९ स्क्रिप्सको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ६ अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब १२ करोडको कारोबार भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सामुदायिक लघुवित्त वित्तीय संस्था,नगदी हाइड्रोपावरको सेयर ९.८७ प्रतिशतले बढ्यो। बरुण हाइड्रोपावर,राप्ति हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर ८ प्रतिशत बढीले वृद्धि भएको छ।

४६ करोड बढीको कारोबार गरी  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। राधी विद्युतको ४५ करोडको सेयर कारोबार हुँदा बुटवल पावर,सप्तकोशी डेभलपमेन्ट बैंक र युनियन हाइड्रोपावरले २५ करोड बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २१७ स्टक्सको मूल्य बढदा ३१ वटाको घट्यो। दुई समूहको बाहेक अन्य समूहको उपसूचकमा हरियाली छाएको छ।  इन्भेस्टमेन्ट र माइक्रो फाइनान्स समूहको उपसूचक २ प्रतिशत बढीले बढ्यो ।


Published :असार १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media