देशभर तापक्रम घट्दै, सावधानी अपनाउन महाशाखाको अनुरोध

राष्ट्रपाटी न्युज

मंसिर २६, २०७९

काठमाडौँ । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो ।

आइतबार ६ डिग्रीमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज अझ ओरालो लागेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। २४ घण्टामा झन्डै १ डिग्री तापक्रम घटेको हो। जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।


Published :मंसिर २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media