नेपाली टी २० लिगमा लुम्बिनी विजयी, पोखरा ३ विकेटले पराजित

काठमाडौं । शाड्ली भान स्कालक्यकको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी अल स्टार्सले नेपाली टी २० लिगमा मंगलबार पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय ३३ रनको योगफल तयार गर्न ९ विकेट खर्चिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले इनिङको अन्तिम बलमा शाड्लीको छक्कासहित लक्ष्य पूरा गर्यो। लुम्बिनीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो । सोही बलमा शाड्लीले विशाल छक्का प्रहार गर्दै लुम्बिनीको तेस्रो जित सुनिश्चित गरे ।

लुम्बिनीका लागि ११ बलको सामना गरेका शाड्लीले चार छक्कासहित अविजित ३१ रनको इनिङ खेल्दा म्यान अफ दी म्याच बने ।

लुम्बिनीका लागि कुशल भुर्तेलले २८ बलमा चार चौका र दुई छक्कासहित ३९ रनको इनिङ खेलेका थिए । यस्तै, उन्मुक्त चान्दले २२ र अनिल साहले १९ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पोखराका लागि कुशल मल्ल र विपिन खत्रीले दुई– दुई तथा प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले एक–एक विकेट लिए ।

पहिलो इनिङमा पोखराका लागि कुशल मल्लले ३१ बलमा पाँच चौका र पाँच छक्कासहित ६१ रनको शानदार इनिङ खेले। त्यसअघि, विकेटकिपर–ब्याटर उपुल थरङ्गाले ५१ बलमा ४२ रन जोडेका थिए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शाड्लीले सर्वाधिक तीन विकेट लिए। किशोर महतो र गुल्शन झाले दुई–दुई तथा हर्मित सिंह र सागर ढकालले पनि एक–एक विकेट लिए ।

पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्समाथि ३ रनको जित निकालेको थियो । पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले हारेको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेट स्तब्ध भएको थियो ।


Published :१२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media