देशकै ठूलो बैंक बनेपछि हाम्रो जिम्मेवारी झनै थपियोः चन्द्र ढकाल

काठमाण्डौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् ।

शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुवै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।

उनले देशकै ठूलो बैंक भएपछि आफूहरुले बैंकिङ क्षेत्रमा करिव १० प्रतिशत हिस्सा लिने बताए । उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको पनि बताए । उनले आगामी दिनमा बैंकका सेवा बिस्तार गरी चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नका लागि लगानी दिने बैंकका रुपमा अघि बढाउने बताए ।

दुई बैंकहरुको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोवल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४०८ अर्ब रुपैयाँ, कुल कर्जा ३७६ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसावले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना रहनेछन् ।


Published :२३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media