संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा । पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई अतिरिक्त समयमा पराजित गर्दै संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । निर्धारित समयमा २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको दोस्रो हाफमा संकटाका कप्तान सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । जित संगै संकटाले आहा रारा पोखरा गोल्डकपमा दोस्रो पटक उपाधि उचाल्यो । यसअघि संकटाले १९ औं संस्करणको उपाधि उचालेको थियो । त्यतिबेला संकटाले विदेशी टीम अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुनिल बलले पाए । उनले इलेक्ट्रिक स्कुटर पाए । सर्वाधिक गोलकर्ताको पुरस्कार चार गोल गरेका संकटाका स्ट्राईकर मेसुकेले पाए ।

संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलरक्षक घोषित हुँदा उत्कृष्ट डिफेण्डर भुटनिजका हेक्टर ओर्टेगा भए । बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने ।

उत्कृष्ट स्ट्राईकरको पुरस्कार संकटाका स्टेफन विनोङले पाए। उत्कृष्ट प्रशिक्षक संकटाकै सल्यान खड्गी बने । उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको च्याम्पियन संकटा क्लबले १२ लाख नगद सहित ट्रफी उचाल्यो। उपविजेता भुटनिज युथ स्पोर्टस मिनेसोटा अमेरिकाले ६ लाख रुपैयाँ नगदसहित ट्रफी पायो । सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपका पुरस्कार वितरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतले विजेता, उपविजेता लगायतलाई पुरस्कार प्रदान गरेका थिए ।

गोल्डकपको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ थियो ।


Published :पुस २३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media